Home > प्रवास > अस्ट्रेलियामा हाउसफुल ‘छक्कापन्जा’!

अस्ट्रेलियामा हाउसफुल ‘छक्कापन्जा’!


आश्विन १३, २०७३- अस्ट्रेलियाका सबै सहरमा ‘छक्का पन्जा’ ले आशातीत व्यापार गरेको छ । सिडनीदेखि ब्रिसबनको गोल्डकोस्टसम्म भएका प्रदर्शनहरू सबै हाउसफुल रहे ।

आयोजकका अनुसार, सबै सहरमा क्षमताभन्दा धेरै दर्शक फिल्म हेर्न आएपछि फर्काउनुसमेत पर्‍यो । केही दर्शकले फिल्मलाई भुइँमा बसेरसमेत हेरेका थिए ।

फिल्मले चामत्कारिक व्यापार गरेको प्रदर्शकहरूले दाबी गरेका छन् । अहिलेसम्म फिल्मले सिडनीमा मात्र करिब आधा दर्जन सो हाउसफुल प्रदर्शन भइसकेको छ । मेलबर्न, गोल्डकोस्ट ब्रिसबन, गोल्डकोस्ट लगायतका सहरमा समेत एक सोमा दर्शकहरूलाई अटाउन नसकेपछि सो थप्नुपरेको आयोजकहरूले बताएका छन् ।

‘आजसम्म कुनै पनि नेपाली फिल्म यसरी लगातार हाउसफुल चल्न सकेको थिएन,’ सिड्नीमा फिल्म प्रदर्शन गरेका सिल्भर स्क्रिन प्रोडक्सनका अशोक तिमिल्सिनाले भने, ‘हामीले यो फिल्मलाई शुक्रबारदेखि लगातार चार दिनसम्म प्रदर्शन गरेका छौं । दर्शकको संख्या धेरै भएकाले एकै दिन दुई सोसमेत गर्नुपर्‍यो ।’

ब्रिसबनको गोल्डकोस्टको इभेन्ट सिनेमामा गरिएको प्रदर्शन कति हाउसफुल भएको थियो भने केही दर्शकले भुइँमै बसेर फिल्म हेरेका थिए ।

‘गोल्डकोस्टजस्तो सानो नेपाली समुदाय रहेको ठाउँमा समेत नेपाली फिल्म हाउसफुल चल्नु भनेको अत्यन्तै खुसीको कुरा हो,’ ओज इन्टरटेन्मेन्टका सुमन थापाले भने ।

Source:kantipur

Leave a Reply

Your email address will not be published.