Home > Feature News > ई–बैंकिङ प्रतिको आकर्षण्

ई–बैंकिङ प्रतिको आकर्षण्

ई–बैंकिङ इन्टरनेटद्वारा प्रदान गरिने बैंकिङ सेवा हो । ई–बैंकिङको प्रयोगमार्फत घरमै बसेर बैंकमा आफूले गरेका गतिविधिहरू सजिलै थाहा पाउन सकिन्छ । त्यति मात्र होइन, यो सेवाबाट घरमै बसी–बसी बैंकको खातामा रहेको आफ्नो ब्यालेन्सबाट मोबाइल रिचार्ज गर्ने, अनलाइन सपिङको भुक्तानि गर्ने, ब्यालेन्स चेक गर्ने, कसैले आफ्नो खातामा कति राख्यो, कति झिक्यो भन्नेलगायतका सबै जानकारी प्राप्त गर्न सकिन्छ ।

सूचना–प्रविधिको विकाससँगै यसको प्रयोगमा पनि वृद्धि भएको छ । यसको विकासले खासगरी बैंकिङ क्षेत्रमा अत्यधिक सुविधा उपलब्ध गराउन थालेको छ । बैंकहरूले सूचना–प्रविधिलाई आधार बनाएर थालेको कार्यक्रमले ग्राहकहरूलाई प्रत्यक्ष फाइदा पुगेको छ । लोकतन्त्र स्थापनासँगै बजारमा बैंकहरूको सङ्ख्या तथा कारोबारको परिणाम अप्रत्याशित ढङ्गले बढे पनि आर्थिक कारोबारका लागि बैंकसम्म धाउने ग्राहकको सङ्ख्या भने कम हुँदै गएको छ । सूचना प्रविधिको विकाससँगै ई–बैंकिङको सुविधाले बैङ्कमा उपभोक्ताहरूको भीड घटेको हो ।

के हो ई–बैंंकिङ ?
इन्टरनेटको माध्यमबाट बैंकका ग्राहकले कम्प्युटर प्रयोग गरी लिने बैंकसम्बन्धी सेवा नै ई–बैंकिङ हो । घरमै बसी–बसी कारोबार गर्न सकिने सुविधा उपलब्ध भएपछि ग्राहकहरू सामान्य कामका लागि बैंक नै धाउनुपर्ने झन्झटबाट मुक्त भएका छन् । ई–बैंंकिङले पैसा जम्मा गर्न वा निकाल्न टोकन बोकेर पालो कुर्नुपर्ने अवस्था पनि अन्त्य गरिदिएको छ ।

ई–बैंंकिङ इन्टरनेट बैंकिङको छोटकरी रूप हो । विज्ञानको यो नयाँ आविष्कारका कारण आज मानिसहरू बैंक नै नपुगी आर्थिक कारोबार गर्न सक्ने भएका छन् । यसले बैंकमा झेल्नुपर्ने समस्याबाट समेत मुक्ति दिएको छ । बैंकका कुनै पनि ग्राहक आफ्नो घरमै बसेर बैंकसँगको लेनदेनका साथै हरेक प्रकारको सम्बन्ध स्थापित गर्न सक्छन् । कुनै पनि समय र स्थानमा आवश्यक परेको समयमा ई–बैंंकिङको माध्यमबाट बैंकसँग लेनदेन गर्न एवं बैंकबाट प्राप्त हुने सुविधा
लिन सकिन्छ ।

कसरी प्रयोग गर्ने ?
ई–बैंंकिङका लागि इन्टरनेट सुविधा भने आवश्यक छ । यसका लागि स्मार्टफोन पनि प्रयोग गर्न सकिन्छ । ई–बैंंकिङमार्फत बिल भुक्तानी गर्न अथवा पैसा निकाल्न, बैंकसम्बन्धी सम्पूर्ण कार्य गर्न सकिन्छ । ई–बैंंकिङको सुविधा भएको बैंकमा खाता खोलिसकेपछि ई–बैंंकिङ सेवाका लागि फारम भर्नुपर्छ । खाता खोलिएको बैंकले एकाउन्ट, युजर आईडी तथा पासवर्ड दिन्छ ।

ई–बैंंकिङका लागि सम्पूर्ण प्रक्रिया पूरा गरेपछि घर अथवा कार्यालयमै बसी–बसी इन्टरनेटमार्फत यसको प्रयोग गर्न सकिन्छ । खातामा आफूले गरेका हरेक गतिविधिको हिसाब बैंकको कम्प्युटरमा पुग्छ र त्यही माध्यमबाट बैंक एकाउन्ट पनि व्यवस्थित हुन्छ । यो व्यवस्थाको प्रयोग यति सरल र सहज छ, जसलाई सामान्य इन्टरनेटको ज्ञान हुने व्यक्तिले पनि सजिलै सम्पन्न गर्न सक्छन् । ई–बैंकिङ सेवा लिन सरल एवं सहज भए पनि यी सबै प्रक्रियामा पासवर्ड र एकाउन्ट नम्बर भने अति महत्वपूर्ण हुन्छ । एकाउन्ट नम्बर बैंकले दिन्छ भने पासवर्ड ग्राहक आफैंले छान्नु पर्छ ।

विदेशमा ई–बैंकिङको प्रयोग पुरानो भैसकेको छ । यसले ग्राहकहरूमा गहिरो छाप पनि छोडिसकेको छ । नेपालमा भने यो प्रविधिको सुरुवात ढिलो भएकाले धेरैलाई यस विषयमा भर्खरै मात्र जानकारी हुन थालेको हो । नेपालमा पहिलोपटक ई–बैंंकिङको सुरुवात सन् २००२ मा कुमारी बैंकबाट भएको हो, अहिले अधिकांश बैंकले यो सेवा प्रदान गरिरहेका छन् ।