Home > विचार/विश्लेषण > ‘कामरेड ! कांग्रेस बुढो बाघ भए पनि घाँस खाँदैन’

‘कामरेड ! कांग्रेस बुढो बाघ भए पनि घाँस खाँदैन’

‘कम्युनिष्ट आन्दोलनलाई गाली उत्पादनको कारखाना नबनाइयोस्’

Biswa-Prakash-Sharma११ असोज, काठमाडौं । विपक्षी दलका नेता केपी शर्मा ओलीले संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसमाथि लगातार प्रश्न गरिरहेका छन् ।

कांग्रेसलाई कहिले ‘शिकार गरेपछि अघाएर सुतेको बाघ त कहिले घाँसकुँडो खाएपछि उग्राएको भैंसी को संज्ञा दिँदै ओलीले तारन्तार प्रश्न गरिरहेका छन्- कांग्रेसको नीति के हो ? विदेश नीति के हो ? आर्थिक नीति के हो ?

के एमाले अध्यक्ष ओलीले भनेजस्तो कांग्रेस नीतिविहीन भएकै हो त ? यसबारे ओलीलाई जवाफ दिँदै ओलीकै गृहजिल्ला झापाका कांग्रेस नेता विश्वप्रकाश शर्मा भन्छन्- धेरै बोल्ने कुरालाई नीतिका रुपमा व्याख्या गर्ने हो भने कांग्रेस अहिले नीतिविहीन नै छ ।’

शर्माले अघि भने, नेपालको स्वार्थ अनुकुल लिइने अडानमा भन्दा पनि भारततर्फ कसले ठूलो स्वरमा प्रश्न गर्छ भन्नेबाट राष्ट्रवादीको मापन गर्ने मनोविज्ञान हामीकहाँ (नेतृत्व पंक्तिमा र नागरिकमा पनि) छ ।’

ओलीले कांग्रेसमाथि लगाएको आरोपबारे प्रश्न गर्दा शर्माले यसरी जवाफ दिएः

म के स्मरण गर्छु भने पहिलो संविधानसभा पनि सत्तारोहण गरेका प्रचण्डको बहिगर्मनपछि माधवकुमार नेपाल प्रधानमन्त्री बन्नु भो । माधव नेपालको पुरै कार्यकालमा प्रचण्ड त्यहीरुपमा बोल्नुहुन्थ्यो, जुन रुपमा अहिले केपी ओली बोलिरहनुभएको छ ।

त्यसबेला माधव नेपालको सरकार भारतको संयोजनमा बनेको भनेर प्रचण्डले भन्नुहुन्थ्यो, जति अहिले प्रचण्डको सरकार भारतको संयोजनमा बनेको भनेर केपी ओलीले बुझ्नुहुन्छ । हिजो एमाले -माधवकुमार) नेतृत्वको सरकार प्रचण्डको दृष्टिकोणमा राष्ट्रघाती थियो । र, आज प्रचण्ड नेतृत्वको सरकार एमाले र खासगरी केपी ओलीको नजरमा राष्ट्रघाती  छ । पात्र र स्थान बदलिएको छ, मनोविज्ञान स्थानान्तरिक भएको छ ।

दोस्रो, हिजो माधव नेपालको सरकारसँग सम्वाद गर्नुको साटो प्रभू  (दिल्ली)सँगै कुरा गर्छु भन्ने प्रचण्डको भारत दृष्टिकोणमा नरमी आएको छ । र, हिजो माधव सरकार भारतीय इशारामा बनेको होइन, नेपालीहरुको चाहनाबमोजिम र परिस्थितिको उपज हो भन्ने केपी ओलीको अभिव्यक्तिमा गर्मी आएको छ । विषय उही छ, पात्रको उपस्थिति फरक छ ।

यो प्रवृत्ति गलत छ । यहाँ बिर्सन नहुने के छ भने असोज ३ गते संविधान जारी गर्न दलहरुले मिति तोके । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका दूत एस जयशंकर नेपाल आएका थिए र, उनको ठाडो प्रस्ताव असोज ३ मा संविधान जारी नगर भन्ने थियो ।

र, अहिले एमालेले भारत परस्त भनेर छवि बनाइदिने प्रयास गरेको कांग्रेसका तत्कालीन सभापति सुशील कोइराला नेतृत्वको सरकार थियो । र, त्यही भारत परस्त भनिएको कांग्रेसका उनै सभापति कोइराला नेतृत्वले अरु दलको सहभागिता, विश्वास र एकीकृत शक्तिमा भारतको हस्तक्षेपमा ठाडै अस्वीकार गरेका थिए । र, मोदीका दूत रित्तै हात फर्किए ।

काठमाडौंमा एमालेको चश्मा हावी हुने प्रयत्न गर्छ, त्यो नजरले हेरिरहँदै गर्दा सिक्किम र दार्जीलिङमा टोपी लगाएर उभिने मान्छे फिदिम र इलाममा टोपी लगाएको जस्तो सोच्ने र सप्तरी र धनुषामा धोती लगाएको मान्छे चाँहि भारतको दरभंगामा लगाएको जस्तो धोती जस्तो सोचिदिने

असोज ३ मा संविधान जारी गर्दै गर्दा सुशील कोइराला भारतपरस्त हुनुभएन । अझै काठमाडौंले मधेसलाई हेर्ने पूर्वाग्रही नजर, जुन नजरमा काठमाडौंमा एमालेको चश्मा हावी हुने प्रयत्न गर्छ, त्यो नजरले हेरिरहँदै गर्दा सिक्किम र दार्जीलिङमा टोपी लगाएर उभिने मान्छे फिदिम र इलाममा टोपी लगाएको जस्तो सोच्ने र सप्तरी र धनुषामा धोती लगाएको मान्छे चाँहि भारतको दरभंगामा लगाएको जस्तो धोती जस्तो सोचिदिने ।

यो मनोविज्ञानको चश्मा काठमाडौंले पहिरिएको बेलामा पहाडे समुदायका सुशील कोइराला कांग्रेसका नेता मुलुकको प्रधानमन्त्री हुनुहुन्थ्यो । र, बेलाबेला एमालेले मुल्यांकन गर्दा राष्ट्रपतिको संस्थामा कांग्रेस देख्ने एउटा मधेसीको छोरो रामवरण यादव यो देशको राष्ट्रपति हुनुहुन्थ्यो । र, उहाँको नेतृत्वबाट संविधान जारी भयो । यसमा एउटा जनजातिको छोरो सभामुख सुवास नेम्बाङको महत्वपूर्ण भूमिका छ, जसको हामी प्रशंसा नै गर्छौं ।

तर, संविधान जारी गर्दै गर्दा कांग्रेसको अगुवाइ, कांग्रेसको समन्वय, एमालेको भाषामा कांग्रेसकै राष्ट्रपति र प्रष्ट बुझिने भाषामा कांग्रेसकै प्रधानमन्त्रीले भारतको दबाव अस्वीकार गरिरहेको कुरामा उहाँहरुले राष्ट्रवाद कहिल्यै देख्नुभएन । तर, केपी ओलीको सरकारलाई बहिर्गमन गरेर प्रचण्ड सरकार बनाउँदै गर्दा त्यहाँ एकाएक राष्ट्रवादको खहरे उर्लियो ।

नाकाबन्दीविरुद्ध केपी ओलीले लिएको अडानको प्रशंसा गर्नुपर्छ । तर, त्यो नाकाबन्दी केपी ओली नेतृत्वको कर्तूतका कारण होइन, संविधान जारी गर्ने मिति नसार्ने कांग्रेसको नेतृत्वको महाकर्तुतका कारण लागेको थियो ।

नाकाबन्दीबाट केपी ओलीले लगानीविनाको नाफा लिनुभो । राष्ट्रवादी अडान लिनु भो, जसको हाम्री प्रशंसै गर्छौं । चीनसँग गरिएका नयाँ सम्झौताहरुको प्रशंसा गर्छौं । तर, यसलाई राष्ट्रवाद र राष्ट्रघातको विषयभन्दा माथि उठेर बुझ्छौं । नेपालको हितमा लिइएको अडान र गरिएको सम्झौता भनेर बुझ्छौं ।

तर, यति नै सन्तुलित ढंगले बुझ्ने संकार शायद कम्युनिष्टभित्र छैन कि ? किनभने कुनैबेला प्रचण्डले माधव नेपालको सरकारलाई खर्लप्पै भारतीय तेलमा पोतिएको देख्नुभो र अर्को कालखण्डमा त्यो चश्मा केपी ओलीले ग्रहण गर्नुभो र प्रचण्ड सरकारलाई भारतीय मैदामा घोलिएको देख्नु भो ।

तर, कांग्रेसले हेर्ने नजर फरक छ । कांग्रेसले हेर्ने नजरमा अलिकति नरमी छ । कम्युनिष्ट भनिरहँदै गर्दा हात मिलाउनेदेखि अभिव्यक्तिको शैली र मुठ्ठी बटार्नेसम्म गर्मी छ ।

कमरेड केपी ओलीको बौद्धिक विश्लेषणलाई म उच्च सम्मान गर्छु । किनभने उहाँको बौद्धिकताले एउटै विषयलाई अघिल्लो दिन बाघ देख्यो, भोलिपल्ट भैंसी देख्यो

कांग्रेसलाई लिएर केपी ओलीको अभिव्यक्ति पनि त्यही हो । दिल्लीमा छलफल गर्दै गर्दा विमलेन्द्र निधिले हामी हाम्रो आन्तरिक समस्याको समाधान गर्न संविधान संशोधन गर्दैछौं भन्दा त्यो राष्ट्रघात भयो । जब कि उहाँले के बिर्सनु भएको छ भने केपी ओली प्रधानमन्त्री बन्नु भन्दा अगाडि नै विशेष दूतका रुपमा प्रदीप ज्ञवाली दिल्ली जानु भो, त्यो राष्ट्रघात भएन । केपी ओलीको उपप्रधान एवं परराष्ट्रमन्त्रीले चारबुँदे ननपेपर दिल्ली दरबारमा खोल्नु भो भनेर सार्वजनिक भएका समाचारहरु अहिले पनि साक्षी छन्, त्यो पनि राष्ट्रघात भएन ।

त्यसैले मलाई के लाग्छ भने राष्ट्रवाद र राष्ट्रघात आ-आफ्नो रुचीको डिजाइन अनुसार काटिने कपडा जस्तो भएको छ ।

कमरेड केपी ओलीको बौद्धिक विश्लेषणलाई म उच्च सम्मान गर्छु । किनभने उहाँको बौद्धिकताले एउटै विषयलाई अघिल्लो दिन बाघ देख्यो, भोलिपल्ट भैंसी देख्यो । संसारमा २४ घन्टाभित्रमा एउटै दल वा विषय/तत्वलाई कसैले बाघ देख्छ र २४ घन्टाभित्र भैंसी देख्छ भने यो भन्दा ठूलो अबौद्धिक विश्लेषण के हुन सक्छ ?

यदि कांग्रेसलाई बाघ देख्ने कि भैंसी देख्ने भन्ने बौद्धिक दोषमा हुनुहुन्छ भने मैले के प्रष्ट्याउनै पर्छ भने उहाँले देखेको घाँस पनि सत्य हो । उहाँले देखेको बाघ पनि सत्य हो । बुझ्नु पर्ने यति मात्रै हो, बाघ बुढो भए पनि घाँस खाँदैन ।

म त्यो जिल्लाको नागरिक हुँ, जुन जिल्लाको माटोमा केपी ओलीजी हुर्किनु भो । म जुन बेला जन्मिएँ, त्यो बेला उहाँ संघर्षको नेतृत्व गर्दै हुनुहुन्थ्यो । अघि जन्मिनु र पछि जन्मिनुको योग्यताको आ-आफ्नो बहस हुन सक्छन् तर, म उही माटोको मान्छे भए पनि उही ढंगले तीतो बाल्न चाहन्नँ ।

झापाकै माटोमा उभिएर उहाँले आफ्नो अभिव्यक्तिलाई खरो बनाउने, उखान टुक्काले घोलिएर मीठो र लोकपि्रय पनि बनाउने र उत्तिकै मात्रामा तीतो पनि बनाउने योग्यता राख्नुहुन्छ । तर, म त्यही माटोबाट बनेको पछिल्लो पुस्ताको कार्यकर्ता, उहाँको तितोपनलाई पछ्याउनुपर्छ भन्ने मान्दिँन ।

झापालीले यसरी नै तीतो र खरो बोल्छन् भन्ने देशभर स्थापित गर्नुपर्छ भन्ने मान्यता पनि म राख्दिँन । मैले भन्ने विन्रमतापूर्वक यति मात्र हो, निश्चय नै कांग्रेस बाघ हो । बाघ बुढो भएको छ तर, कमरेड प्रष्ट हुनुहोला, कांग्रेस बुढो बाघ भए पनि घाँस खाँदैन ।

केपी ओली र प्रचण्डले कम्युनिष्ट आन्दोलनलाई गाली उत्पादनको कारखाना नबनाइदिए उहाँहरुकै स्वास्थ्यलाई राम्रो हुने हो

कांग्रेस त्यो बाटो पनि हिँडिरहेको छैन, जुन बाटो अन्तत कम्युनिष्ट आन्दोलनले हिँड्न चाहेको छ । कांग्रेस त्यो बाटोमा छ, जुन बाटोमा ००७ सालको क्रान्तिका बेलामा नै संसदीय परिपाटीमार्फत मुलुकको काँचुली फेर्न सकिन्छ भनेर प्रजातन्त्रको बाटोमा हिँड्यो । र, कांग्रेस त्यही ब्यालेट र विन्रमताको बाटोमा छ । यही बाटोबाट कांग्रेसले अभिव्यक्ति राख्छ र राजनीति अघि बढाउँछ ।

केपी ओली र प्रचण्डले कम्युनिष्ट आन्दोलनलाई गाली उत्पादनको कारखाना नबनाइदिए उहाँहरुकै स्वास्थ्यलाई राम्रो हुने हो । त्यो कारखानामा त्यो चिज उत्पादन हुन्छ भनेर अर्को कारखानाले पनि त्यहीखालको गाली उत्पादन गर्नु पर्ने मान्यतासँग म विल्कुल सहमत छैन ।

मात्र आग्रह के हो भने नेपालको वर्तमान संविधान निर्माणमा सुशील कोइरालाले समन्वय गरेर जति भूमिका निवार्ह गर्नुभएको छ, उत्तिकै महत्वपूर्ण भूमिका एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डले पनि गर्नु/निभाउनु भएको छ । यो साझा स्वामित्वबाट निर्माण भएको संविधान हो, यसको स्वामित्वको दायरालाई बढाऔं भनेर अभिव्यक्ति राख्दा जिम्मेवार अभिव्यक्तिका रुपमा बुझ्नुपर्छ ।

ओलीजी आफू सरकारमा छँदा मधेस केन्द्रित दलहरुलाई वार्ताका लागि अपिल गर्दै हुनुहुन्थ्यो र संविधान संशोधन गरेर सीमांकनमा हेरफेर गरेर समस्या समाधान गर्न सकिन्छ भनेर नीतिगत सहमतिमा हुनुहुन्थ्यो । उहाँहरुले जे गरिरहनु भएको थियो, पछिल्लो सरकारले त्यही गरिरहेको छ, संविधान संशोधनमार्फत संविधानको अपनत्वको दायरा बढाउने ।

संविधानको अपनत्वको दायरा बढाउँदा सुशील कोइराला, केपी ओली र प्रचण्डहरुको साझा प्रयत्नबाट बनेको संविधान थप सम्बृद्ध बन्छ ।

प्रश्न सरकारको नेतृत्व हिजो कसले गर्दैथ्यो, आज कसले गर्दैछ र भोलि कसले गर्नेछ भन्ने होइन । प्रश्न, जन्मिएको काखको कलिलो संविधानले कति राम्रोसँग सेरलेक खुवाउने र कति दीर्घजीवी बनाउने भन्ने हो । त्यसैले मलाई के लाग्छ भने दलगत आग्रह र आवेगभन्दा माथि उठेर विवेकका साथ सोच्नुपर्छ ।

(कांग्रेस केन्द्रीय सदस्य विश्वप्रकाश शर्मासँग गरिएको कुराकानीमा आधारित)

Source: Online khabar

Leave a Reply

Your email address will not be published.