Home > मनोरंजन > गुरुङ कथाले तान्यो दर्शकलाई!

गुरुङ कथाले तान्यो दर्शकलाई!


आश्विन १४, २०७३- नेपालको पश्चिम केन्द्रित फिल्म ‘झुम्की’ मुलुकका विभिन्न भागमा प्रदर्शन भइरहँदा बेसीसहरमा भने ‘नबुझिएको यो मन’ लागेको छ ।

‘नबुझिएको यो मन’ गुरुङ संस्कृतिमा आधारित नेपाली फिल्म हो । लमजुङकै युवाहरूको लगानी रहेको उक्त फिल्ममा स्थानीय कलाकारहरूको अभिनय हेर्न सकिन्छ । छायांकन पनि यतै गरिएको हो । शुक्रबारदेखि बेसीसहरमा यो फिल्म लागिरहेको छ ।

तमु फिल्म्सको ब्यानरमा बनेको फिल्म जनक गुरुङले निर्देशन गरेका छन् । फिल्मका कलाकार एवं निर्माता सुमन गुरुङका अनुसार फिल्ममा पारिवारिक प्रेमकथा छ ।
‘कठोर सौतेनी आमा र सासूका कारण एक नारीले पाएको दु:खलाई पर्दामा कारुणिक रूपमा उतारिएको छ,’ उनले भने, ‘रुढिवादी परम्पराले झाँगिएको फिल्ममार्फत अविश्वासको अन्त्य गर्नुपर्ने र बालबालिकालाई शिक्षा दिइनुपर्ने सन्देश दिन खोजिएको छ ।’

फिल्ममा सुमनका अलावा विष्णु गुरुङ, अस्मी गुरुङ र प्रतिमा गुरुङको मुख्य अभिनय छ । टीकाराम घले, प्रतिमा गुरुङ, नरबहादुर गुरुङ, बलबहादुर गुरुङ, सुनकुमारी गुरुङ लगायतले पनि खेलेका छन् ।

फिल्ममा हरपल गुरुङ र लमजुङ नृत्यकला केन्द्रका निर्देशक ध्वज गुरुङले नृत्य निर्देशन गरेका छन् । विकास चौधरीले संगीत भरेका छन् । भेष गुरुङले छायांकन गरेका हुन् भने मेघबहादुर थापाको सम्पादन ।

फिल्मका निर्माता शंकर गुरुङ (बतासे) ले प्रेमकथा र रुढिवादी परम्परालाई आधार बनाएर फिल्म निर्माण भएका कारण दर्शकले मन पराएको दाबी गरे ।

Source:ekantipur

Leave a Reply

Your email address will not be published.