Home > Feature News > भैंसीलाई सुत्केरी भत्ता पाँच सय

भैंसीलाई सुत्केरी भत्ता पाँच सय

भदौ १०।

24082016063722buffelo-1000x0 सरकारले स्वास्थ्य संस्थामा पुगेर सुत्केरी हुने हरेक महिलालाई सुत्केरी स्याहार भत्ता दिन थालेको नयाँ होइन । यहाँ भने जिल्ला पशु सेवा कार्यालयले भैंसीलाई पनि ‘सुत्केरी भत्ता’ दिने गरेको  छ ।

दुधालु भैसी र पाडापाडी संरक्षणमा चेतना जगाउन यस्तो कार्यक्रम थालिएको हो । दुधालु भैंसी र भर्खरै जन्मिएका पाडापाडी मासुका लागि किनबेच हुन थालेपछि त्यसको संरक्षण गर्ने उदेश्यले यस्तो कार्यक्रम ल्याइएको कार्यालयले जनाएको छ । कार्यक्रम अनुसार हरेक भैंसीले एउटा पाडो वा पाडी जन्माएवापत पाँच सय रुपैयाँ पाउँछ । तर, त्यसका लागि किसानले मान्नैपर्ने केही शर्त अनिवार्य छ । भैंसीले पाडापाडी जन्माएको र त्यसलाई कृत्रिम गर्भादान गराएको प्रमाण जिल्ला पशु कार्यालय वा पायक पर्ने पशुसेवा कार्यालयमा पेश गर्नुपर्छ ।

‘भैंसीलाई कृत्रिम गर्भादान गराए र पाडापाडी पाएको प्रमाण पेश गरेपछि भत्ता दिइन्छ,’ पशु विकास अधिकृत विष्णुबहादुर पाण्डेले भने, ‘पोहोरको कार्यक्रमबाट २५ किसानले यो सुविधा लिए । भैंसीलाई सुत्केरी भत्ताको कार्यक्रम यो वर्ष पनि निरन्तर छ ।’ स्थानीय जातका लिमे र पारकोटे भैंसी संरक्षण गर्ने अभियानसहित जिल्लामा पहिलोपटक यो कार्यक्रम लागु गरिएको उनले बताए । सुरुको वर्ष प्रचारप्रसारको कमी भएकोले धेरै किसान लोभिन नसकेको यो कार्यक्रममा यो वर्ष भने अधिक किसानको सहभागिता गराउने कार्यालयले लक्ष्य राखेको छ ।

कार्यालयले यो सुविधा दिन थालेपछि केही किसानमा सकारात्मक प्रभाव परेको छ । यो कार्यक्रमले दोहोरो फाइदा हुने किसानहरुको प्रतिक्रिया छ । ‘अहिलेसम्म यस्तो कुरा सुनिएकै थिएन,’ थापाठानाका प्रकाश क्षेत्रीले भने, ‘यसले उन्नत भैंसीको विकास गर्न र व्यवसायिक बन्न हौसला मिल्छ ।’ सुरुआत राम्रो भएको भन्दै किसानहरुले यसलाई अझ बिस्तार गर्नुपर्ने बताएका छन् ।

कार्यक्रम पहिलो वर्षमै प्रभावकारी देखिएपछि अझ व्यवस्थित गरि निरन्तरता दिन पशु कार्यालयले तयारी गरेको छ । चालु वर्षदेखि जिविससँग पनि सहयोग मागेको कार्यालयका वरिष्ठ पशु विकास अधिकृत सुधिर थापाले बताए । ‘हाम्रो कार्यक्रम निरन्तर हुन्छ,’ उनले भने, ‘जिविसबाट पनि तीन सय रुपैयाँ दिने निर्णय भएको छ ।’

जिविसको पैसा लिन भने कृत्रिम गर्भादान गराउन नपर्ने तर, पाडापाडी १८ महिना पालेको हुनुपर्ने प्रावधान रहेको उनले बताए । यो कार्यक्रम दुर्गममा समेत प्रभावकारी भएको पशुका प्राविधिकहरुले बताएका छन् । पशु कार्यालयको हुवास सेवा केन्द्रका प्राविधिक राजेश पाण्डेका अनुसार त्रिवेणी, हुवास, भोर्ले र रानीपानीलगायतका किसानहरु यस कार्यक्रममा बढी आकर्षित भएका छन् । कार्यक्रमले किसानलाई व्यवसायिक बन्न र कृत्रिम गर्भादान गरि उन्नत जातका भैंसी उत्पादनमा सघाउ पुगेको त्रिवेणीका किसान मेघनाथ बस्यालले बताए ।

Leave a Reply

Your email address will not be published.