Home > समाचार > मलाई पीडा महसुस भएको छ: पूर्व राष्ट्रपति

मलाई पीडा महसुस भएको छ: पूर्व राष्ट्रपति

विराटनगर- पूर्वराष्ट्रपति डा. रामवरण यादवले सात दशकको सङ्घर्षपछि जनताको चाहनाअनुरुप संविधान प्राप्त भएकाले यसको कार्यान्वयनतर्फ केन्द्रित हुनुपर्ने बताएका छन् ।
विराटनगरमा शुक्रबार बिहान पत्रकार भेटघाटमा उनले संविधानको आवश्यकताअनुरुप संशोधन गर्दै जान, उग्रता नदेखाईकन मधेसका केन्द्रित दलले लोकतान्त्रिक विधिअनुरुप माग राख्न र सरकारलाई असहिष्णु नहुन सुझाव दिए ।
आफू राष्ट्रपति हुँदा लोकतान्त्रिक विधिअनुरुप, दलहरुको सहमतिमा काम गरेको बताउँदै पूर्वराष्ट्रपति यादवले भने, ‘मधेसका दललाई पनि विश्वासमा लिनका लागि केही दिन कुर्न ठूला दललाई सुझाव दिएको थिएँ, तर उनीहरुले नमानेकाले मलाई पीडा महसुस भएको छ ।’
उनले संविधान बनाउने सार्वभौम संविधानसभाको अधिकार क्षेत्रभित्र पर्ने भएकाले नै संविधानसभाबाट बनाइएको संविधानलाई राष्ट्रपतिका रुपमा आफूले जारी गरेको प्रष्ट पारे । ‘त्यसो नगरेको भए संविधानको उल्लङ्घन हुन्थ्यो,’ उनले भने ।
उनले संविधानसभाका करिब ९० प्रतिशत सभासद्को समर्थनबाट निर्माण गरिएका संविधानलाई जारी गरी जनताको नासो जनतालाई सुम्पिएको स्पष्ट पारे ।
उनले संविधान संशोधन भइसकेपछि मधेसका दलहरुको ९५ प्रतिशत माग पूरा भइसकेको र सीमाङ्कनको समस्या समाधानका लागि ठूला दलहरुलाई आपसी छलफल गरी टुङ्गो लगाउनुपर्ने सुझाव दिए ।
भूकम्पका कारण रु सात खर्बको क्षति भएको स्मरण गर्दै पूर्व राष्ट्रपति यादवले पाँच महिनाको मधेस आन्दोलनको अवधिमा रु १५ खर्बको क्षति भएकाले मुलुकमा शान्ति स्थापना गरी विकासको गतिलाई अगाडि बढाउन सबै दलहरुबीच सहमति आवश्यक रहेको बताए ।
उनले स्थानीय निकायको निर्वाचन, सीमाङ्कनको समाधान, सङ्घीय निर्वाचन र केन्द्रीय निर्वाचन सरकारको मुख्य कार्य रहेको स्पष्ट पार्दै उहाँले मुलुकमा शान्ति स्थिरताका साथै पर्यटकीय क्षेत्रको विकासका लागि सरकारलाई अग्रसर हुनुपर्ने विषयमा जोड दिए ।
उनले चुरे क्षेत्रको संरक्षण, राष्ट्रिय एकता र पहाडी–मधेसीबीच सामाजिक सद्भाव कायम गर्न र वातावरणलगायतका विषयमा सर्वसाधारणलाई जानकारी गराउन आफू लागिपर्ने बताए ।

Leave a Reply

Your email address will not be published.