Home > खेलकुद > महिला फुटबलमा तहल्का पिट्दै साबित्रा !

महिला फुटबलमा तहल्का पिट्दै साबित्रा !

सिलिगुढी, पुस १८

तीन वर्षअघि गञ्जी र कट्टु लगाएर फुटबलको बुट बोक्दै घरबाट बाहिर निस्किदा सावित्रा भण्डारीको विषयमा गाउँका धेरैले कुरा काटेका थिए। हाल मनाङको जिल्ला स्वास्थ्य कार्यालयमा पीयन पदमा कार्यरत सावित्राको बुवा थमबहादुर भण्डारीलाई त्यतिबेलै गाउँका केही ठूला भनाउँदाहरुले भनेका थिए, ‘छोरीलाई यसरी छाँडा छोड्नु भएन्?’

तर, जागिरको सिलसिलामा विभिन्न ठाउँ डुलेका थमबहादुरले आफ्नो छोरीको विषयमा आउने यस्ता प्रतिक्रियालाई कहिल्यै वास्ता गरेनन्। नतिजा, अहिले सावित्राका बुवा आफ्नो छोरीले महिला फुटबलमा गरेको प्रगतिका कारण चौतर्फी चिनिन थालेका छन्।

सावित्राले भारतको पश्चिम बंगालस्थित सिलिगुढीमा जारी चौथो महिला साफ च्याम्पियनसिपको तीन खेलमा ११ गोल गरिसकेकी छिन्। उनी नेपाली फुटबलमा एउटै प्रतियोगितामा सर्वाधिक गोल गर्ने खेलाडी मात्र होइन, एउटै खेलमा दोहोरो ह्याट्रिक गर्ने महिला खेलाडी पनि बन्न पुगेकी छिन्।

सावित्राले भुटानविरुद्धको पहिलो खेलमा ६ गोल गरेकी थिइन्। जसका कारण नेपाल ८–० ले विजयी भएको थियो। उनले माल्दिभ्सलाई ९–० ले पराजित गरेको खेलमा एक्लैले ५ गोल गरेकी थिइन्। खेलमा उनको गजबको ‘स्टामिना’ र गोल गर्ने क्षमता देखेर विपक्षी टोली पनि तिलमिलाएका छन्। दक्षिण एसियामा सबैभन्दा बलियो मानिएको भारतीय टोलीका प्रशिक्षक सजित धर पनि सावित्राको गोल गर्ने क्षमताबाट निकै लोभिएका छन्। उनले नेपालविरुद्ध सेमिफाइनल अघि नै सावित्रालाई खतरनाक खेलाडीको उपमा दिइसकेका छन्।

सन् २०१४ को साफ च्याम्पियनसिपमा भुटानविरुद्धको खेलबाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेकी सावित्राले हालसम्म १४ गोल गरेकी छिन्। उनले आफ्नो डेब्यु खेलमै १ गोल गरेकी थिइन्। यसबाहेक १० महिनाअघि आसामको सिलोङमा आयोजना भएको १२ औं सागमा श्रीलंकाविरुद्ध २ गोल गरेकी थिइन्।

२०७१ साल साउनमा एपिएफसँग आवद्ध साबित्राले एपीएफमा हुने नियमित प्रशिक्षण, म्याच एक्सोजर, मेहनतले परिपक्व बनाउँदै लगिन्। पुस २ गते राजधानीमा भएको मलेसियासँको मैत्रीपूर्ण खेलमा पनि आफूभन्दा २६ स्थान माथिको बलियो राष्ट्र मलेसियालाई हराउने क्रममा साबित्राले नै निर्णायक गोल गरेकी थिइन्।

नेपालका दुई स्टार स्ट्राइकर अनु लामा र जमुना गुरुङ अनुपस्थित भए पनि उनले राष्ट्रिय टोलीको अग्रपंक्ति राम्रैसँग सम्हालेकी छिन्। ‘यो सबै साथीहरुको सहयोगले सम्भव भएको हो। म एक्लैले कहाँ सबै गर्न सक्थे,’ भारतविरुद्ध सेमिफाइनल खेलको तयारीमा व्यस्त सावित्राले सेतोपाटीसँग भनिन्।

सावित्रा भलिबलको पनि राम्री खेलाडी हुन्। उनले सन् २०१४ मा काठमाडौंमा आयोजना भएको राष्ट्रपति रनिङ सिल्डमा पश्चिमाञ्चलबाट प्रतिनिधित्व गरेकी थिइन्। जुन टोली तेस्रो भएको थियो। भलिबलमा पनि उनी स्पाइकरको रुपमा खेल्थिन्।

‘भलिबलका कारण सानैमा टिममा बसेर कसरी खेल्नु पर्छ भन्ने चेतनाको विकाश भयो। अहिलेको नतिजा विगतको कारण पनि हुन सक्छ,’ २० वर्षीय एपिएफकी यी स्ट्राइकरले भनिन्।

सन् २०१३ को दशैंमा धनपोखरामा आयोजना भएको महिला फुटबल प्रतियोगितामा उनको खेलबाट मोहित भएपछि रेफ्री शुक्र लामाले उनलाई एपिएफमा अनुबन्धित गर्न ठूलो योगदान गरेका थिए। ‘आज म यो अवस्थामा आउनमा शुक्र दाईको ठूलो योगदान छ,’ उनले भनिन्।

घरमा १ दिदी, २ भाई र २ बहिनी भए पनि सावित्रा सानैदेखि छोटो कपाल बनाएर हिड्थिन्। जुन अहिलेसम्म जारी छ। आफ्नो ‘हेयर कट’ का कारण उनले आफू जन्मिएको ठाउँ लम्जुङको सिमपानीमा आलोचना पनि खेप्दै आएकी थिइन्। तर, अहिलेको सफलतापछि उनको बारेमा कुरा काट्ने पनि हतोत्साही भएका छन्। उनी बुवाको हौसलाका कारण आफूलाई अगाडि बढ्न गाह्रो नभएको बताउँछिन्। भन्छिन्, ‘बुवाले सधै जे गर्न मन लाग्छ, धक नमानी गर्नु भन्नु हुन्थ्यो। उहाँले फुटबल खेल्न पनि प्रोत्साहन गर्नु भयो। यही कारण म आज यहाँ उभिएको छु।’

सावित्रा हाल लम्जुङको अमर मावीमा व्यवस्थापन विषय लिएर १२ कक्षामा अध्ययनरत छिन्। उनको भविष्यको योजना छ, महिला प्रशिक्षक बनेर महिला फुटबल विकाशमा लाग्ने। यसका लागि उनी अध्ययनलाई पनि सँगै लगिरहेकी छिन्।

News Source : Setopati

Leave a Reply

Your email address will not be published.