Home > विचार/विश्लेषण > विदेशका कुरा कक्षामा सुन्दा बुवालाई सम्झेर रोएँ

विदेशका कुरा कक्षामा सुन्दा बुवालाई सम्झेर रोएँ

करिश्मा तामाङ/खोटाङ

karishma

मेरो घर खोटाङको नुनथला हो । म अहिले कक्षा ९ मा पढ्दै छु । अरु दिन कक्षामा संधै कितावका कुरा पढ्थ्यौं । तर एक दिन हाम्रो कक्षामा अर्कै मिस आउनुभयो । उहाँले अभिभावक विदेशमा भएका र विदेश गएर फर्किएकाहरुलाई आ– आफ्नो अनुभव सुनाउन भन्नुभयो।

बुवाआमा विदेशमा भएका वा बुवाआमा गएर फर्किएका साथीहरुले आफ्ना कुरा सुनाउन थाले । साथीहरुले आफ्ना कुरा सुनाउँदै गर्दा मैले आफ्नो मन थाम्न सकिन । किनकी वैदेशिक रोजगारीले मेरो बुवाको हातको औंला नै गुमेको छ।

मेरो बुवाको नाम रामबहादुर । उहाँ चार वर्ष अघि रोजगारीका लागि मलेसिया जानुभएको थियो ।  बुवालाई विदेश पठाउने बेला हाम्रै आफन्तले निक्कै मिठो आवश्वासन दिए ।

राम्रो कम्पनीमा राम्रो काम लगाइदिन्छु त भने नै धेरै कमाई हुन्छ भन्न पनि छुटाएनन् उनीहरुले । त्यसैले बुवा ८० हजार बुझाएर मलेसिया  जानुभयो । बुवाले कुनै कामका लागि सीप पनि सिक्नुभएको थिएन । एक किसिमले भन्दा त उहाँ लहैलहैमा मलेसिया पुग्नुभयो । तर यहाँ देखाएको आश्वासनले मलेसिया पुगिसकेपछि बुवालाई निरास बनायो।

बुवालाई यहाँ स्काफोल्डिङको काम भनेर विदेश पठाएका थिए । काम त भनेकै पाउनुभयो तर तलव चाहिँ भने अनुसारको पाउनुभएन । हामीलाई सम्झेर उहाँले काम छोड्न पनि सक्नुभएन । यही काम पनि छोडेर के गर्नु भन्नुहुन्थ्यो विदेशबाट आमालाई फोन गर्दा।

घर आउने तयारी गर्दै गरेका बेला उहाँ दुर्घटनामा पर्नुभयो । काम गर्दै गर्दा भएको दुर्घटनामा मेसिनले बुवाको हातको बुढी औंला काट्यो । स्काफोल्डिङमा जानुभएको तर काम गर्ने कुनै सीप थिएन । अनि मेसिनहरुका बारेमापनि त्यति धेरै जानकारी थिएन । त्यसैले मेसिनले औंला नै छिनायो । औंला काम गर्दा गर्दै काटियो।

कम्पनीले उपचार खर्च दिएन । उहाँसँग पनि उपचार गर्न पैसा थिएन । त्यसैले मलेसियामै रहेका नेपालीले पैसा उठाएर उपचार गरिदिएछन् । त्यतिबेलासम्म बुवाले त्यो कम्पनीमा काम गर्न थालेको ४ बर्ष भइसकेको थियो । तर एक वर्षको पैसा दिएनछ । त्यसैले त्यही ३ वर्षको कमाइमा चित्त बुझाएर बुवा घर फर्किनुभयो । तर एउटा औंला चाहिँ उतै छुट्यो ।

नेपाल आएर बुवाले आफुलाई विदेश पठाउनेलाई केहि क्षतिपूर्ति पाइन्छ कि भनेर फोन पनि गर्नुभयो । तर उसले तपाईंकै कारणले त्यस्तो भएको हो भन्यो, पछि त फोन नै उठाउन छोड्यो । त्यसैले अहिले बुवासँग कोहि विदेश जान्छु भन्दै आयो भने सीप सिकेर मात्रै जानु । अनि जाने देशको बारेमा जानकारी लिएर मात्रै जानु भन्नुहुन्छ।

बुवा अहिले त घरमै खेती गरिरहनुभएको छ । विदेशले उहाँको औंला त लग्यो । त्यति मात्रै होइन औंलो काटिँदा बुवालाई जति पीडा भयो, त्यति नै पीडा हामी परिवारका सबैलाई भयो । त्यसैले मलाई लागिरहन्छ विदेश जाँदा नै बुवाले सबै कुरा बुझेर जानुभएको भए सायद यस्तो हुँदैनथ्यो होला । अनि बुवा विदेश जानुभन्दा अघि नै मैले विदेश जानेहरुलाई सुरक्षित रुपमा पठाउन विभिन्न संघसंस्थाले यसरी सूचना दिएर पठाउँछन भन्ने थाहा पाएको भए पनि म उहाँलाई सबै जानकारी लिएर मात्रै जानु भन्थें।

Leave a Reply

Your email address will not be published.