Home > विचार/विश्लेषण > २६ वर्षमा २४ सरकार कस्का लागि ?

२६ वर्षमा २४ सरकार कस्का लागि ?

1469760874aacharya%20peshalपेशल आचार्य

–    मुख नलुकाई र जीब्रो नचपाई भन्दा नेपालले गएको २६ वर्षमा २४ वटा असफल प्रधानमन्त्री र सरकारहरू व्यहोर्नु  पर्यो । उपप्रधानमन्त्री, मन्त्री, राज्य मन्त्री र सहायक मन्त्रीहरूको त लेखाजोखा नै छैन । कति भए कति ? अहिलेसम्म नेपाली भाषामा बनेका र फ्लब भएका नेपाली सिनेमाहरू भन्दा मन्त्रीहरूको संख्या बढी होला । यही हावा तालले मन्त्रीमण्डल परिवर्तन भैरहने हो भने अबका २ दसकभित्र नेपालमा क्रियाशील सबै ठूलासाना राजनीतिक पार्टीका कार्यकर्ताहरू कुनै न कुनै मन्त्री भैसक्ने डर नेपालीलाई यतिखेर भएको छ ।

–    देश दलदलमा फँसेको छ । निकासको सहज पथ देखिन्नँ । कुनै राजनीतिक पार्थ पनि देशलाई यो गोलचक्करबाट निकाल्न अघि सरेजस्तो लाग्दैन । –    ‘नबुझिने गठबन्धन रहेछ यो । …एउटाको ‘बोली’ नबुझिने, अर्कोको ‘भोलि’ नबुझिने…।’ देउवा–प्रचण्ड गठबन्धनबारे चर्चित कार्टुनिष्ट रविन सायमी लेख्छन् ।

–    नबन्ने आशङ्का हुँदाहुँदै संविधान बन्यो । देखावटीरूपमा तात्कालिक अवस्थामा देशमा क्रियाशील राजनीतिक पार्टीहरू भारतीय दबावको विरोधमा उभिएर, युरोपियन युनियनका प्रत्यक्षअप्रत्यक्ष प्रभावमा आएर,  विदेशी प्रभुका दाना पानीमा लोभिएर पनि नचाहिँदा र नहुने मुद्दा नेपाली राजनीतिमा बलजफ्ती घुसाउने काम गरियो । समयान्तरमा तिनै मुद्दाहरू  लोकतान्त्रिक समाज विकासमा एकदिन घाँडा सावित हुँदै जानेछन् । –    नेमकिपाका नेता नारायणमान बिजुक्छेका शब्दमा –‘प्रचण्ड भारतले नेपालको राजनीतिमा हस्तक्षेप गर्न तयार गरेको ‘ट्रोजन हर्ष’ हो ।’ बिजुक्छे नेपाली राजनीतिका स्थायी प्रतिपक्ष र सत्ताबाहिरै रहेर पनि तीतो तर साँचो बोल्ने नेता हुन् । अझै अघि बढेर उनले भनेका छन् –‘भारतको कुरा मान्दा देशै आप्ठ्यारेमा पर्ने र कुरा नमान्दा प्रचण्डमाथि ज्यानको खतरा हुने ।’ यी र यस्ता उनका आरोपमा कति मिथ्याङ्श, कति सत्याङ्श छ ? आगे भविष्यले देखाउँदै जाला ।

–    मान्छेलाई अति देवत्वकरण गर्नु र अति दानवीयकरण गर्नु दुवै अतिवादी सोच हुन् । कवि श्रवण मुकारुङले आफ्नो फेसबुक स्टाटसमा लेखे –‘मानिसलाई अति देवत्वकरण गर्दा ऊ भगवान् बन्ने सम्भावना भन्दा बाँदर हुने सम्भावना बढी हुन्छ ।’ मुकारुङको कटाक्ष कामचलाउ भैसकेका प्रम  ओलीप्रति लक्षित रहेछ । विचरा ओली सरकारमा रहँदा पनि सकसहीन थिएनन् । संघीयता र धर्मनिरपेक्षताका विरोधीहरूलाई साथै लिएर संघीयता कार्यान्वयन गर्ने उनको ठूलो चुनौति थियो । एकदिन बालुवाटारमै भनेका रहेछन् –‘नेपालको संघीयता बाख्राका टाउकामा भैँसीको सिँग होलाजस्तो छ ।’ कम्ति पीडा छ यो उक्तिमा ? या भविष्यको नेपाली गन्तव्य नै चुहाएका हुन् उनले ? खोजी हुनुपर्छ, यस्ता गूढगम्भीर रहस्यको । –    सामाजिक सञ्जालमा सामान्य मानिसको पनि पहूँच पुगीसक्यो । पढेलेखेका, पढ्न नसकेका र पढ्दै नपढे्का सबै मानिसहरू यो निःशुल्क सुविधाको बेधड्क प्रयोग, उपयोग र दुरुपयोग गरिरहेका छन् । अचेल सहरमा भन्दा फेसबुकमा बढी आन्दोलनहरू हुने गर्छन् । आफ्ना मानिसलाई माथि उचाल्न र विरोधीहरूलाई पछार्न सजिलो हतियार फेसबुक बनाइएको छ ।

–    एकजना किसानले मार्मिक पारामा भने –‘गाउँघरतिर बाली पाक्न एक वर्ष लाग्छ तर सहरमा प्रधानमन्त्री ९-९ महिनानै पाक्न थालेका छन् । २०४६ साल यता गएको २६ वर्षमा नेपालमा प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रका  गरी २४ याने दुई दर्जन सरकारहरू गठन, विगठन भैसके । तिनीहरूले जनताका नाम भँजाउँदै २४ जना राजनीतिकर्मीलाई नै प्रधानमन्त्रीका कुर्सीमा बसाए । तर इतिहासले मूल्याङ्कन गर्ने र भविष्यसम्म नेपाली जनताले सम्झने खालका कार्यकारीहरू एउटै पनि बनाएनन् ।’ –    क्रियाशील पार्टीका नेताका अनुहार, झन्डा, कार्यकर्ता र विधानमात्रै पृथक् देखिन्छन् तर तिनीहरूको शासन गर्ने शैली कसैको पनि मौलिक पाराको हुन सकेन । देश झन्झन् रसातलमा भाँसिदो छ । नेपालीहरू झन्झन् शासक र शासन शैलीप्रति निराश बन्दै गएका छन् । –

निजी क्षेत्रलाई पूरै बेवास्ता गरिएको छ । सरकार आफ्नो पुरानो ढर्राबाट बाहिर आउन चाहँदैन । संविधान कार्यान्वयन कै सवालमा पनि स्थानीय सरकार, (यद्यपि काँग्रेस, एमाले र माओवादी सबै अझै स्थानीय निकाय नै भन्दैछन् तर संविधान जारी भएका दिनदेखि नेपालमा पुरानो संरचनामा रहेका अञ्चल, जिल्ला, नगरपालिका र गाउँ विकास समिति भन्ने निकाय छैनन् । ती सबै कामचलाउ भैसकेका छन्) प्रादेशिक सरकार र केन्द्रीय सरकारको चुनाव भन्नु पर्ने हो । जसको खाका अझै प्रष्ट छैन । –    एकातिर, मधेश अझै मध्यदेशझैँ संविधान कार्यान्वयनका सिलसिलामा मझधारमा उभिएको छ । ऊ ओली सरकार भत्काउन काँग्रेस र माओवादी केन्द्रको सहयोगी भयो तर संविधान संशोधन नगरी र माग पूरा नगराई अब बन्ने सरकारमा नजाने अडानमा बसेको छ । अर्कातिर, नेपाली राजनीतिका ‘मुसा प्रवृत्ति’ मा रमाएका गच्छेदार र कमल थापाहरू फेरि सरकारमा जान खुट्टो उचालिसकेका छन् । –    ‘कोशी ब्यारेजमा आइ्एसले आक्रमण गर्ने कथित हल्ला चलाएर भारतीयहरू यो वा त्यो बहानामा नेपालमा प्रवेश गर्न खोजिरहेका छन्’ भन्ने समाचार पनि तारन्तार आएका छन् । मुलकको गृह प्रशासन चुपो लागेर बसेको छ । सूचनाको हक पाएका जनताको अधिकार प्रतिको यो चरम बेवास्ता पनि हो । –    काँग्रेस र माओवादी केन्द्रको गठजोडमा नयाँ सरकार बन्ने, चैतसम्म प्रचण्डले नेतृत्व गरेर स्थानीय सरकारको चुनाव गराउने अनि त्यसपछि काँग्रेसका देउवाको नेतृत्वमा सरकार बनी प्रादेशिक र केन्द्रीय संसदको चुनाव गराउने ७ बुँदे लिखित सहमति भएको कुरा आएको छ ।

–    एकजना कथाकारले आफ्नो फेसबुक वालमा लेखेको गजलले ओलीजीको बहिर्गमनलाई कलात्मक पाराले चित्रण गरेको देखियो – ‘नजानु त छँदै थियो तर ऊ हारेर गई   जान त गई तर पल्ला भारी पारेर गई ।’ –    ‘ओलीजी पनि सुदूर इतिहासमा सम्झिइरहने प्रधानमन्त्री त होइनन् तर एउटा कुरा के सत्य हो भने जुन कथित मुद्दा र ढोंग साथमा लिएर काँग्रेसले माओवादी केन्द्रलाई काँधमा बोकी ओली सरकार गिराएको छ त्यो वर्तमान समयमा कुनै नेपालीले राम्रो काम भयो भनेर भन्न सकिरहेका छैनन् । जसरी ओली प्रधानमन्त्री हुने बेलामा पनि काँग्रेसको रवैयामा राजनीतिक कच्चापन देखिएथ्यो त्यसैगरी आहिले पुःन दोहोरियो’ –विश्लेषकहरू भन्दैछन् । –    ओलीको एउटा तर्कमा भने दम छ । त्यो के भने उनी अफ्ठयारो समयमा प्रधानमन्त्रीको कुर्सीमा बसेर सजिलो समयमा सहकर्मीबाट हठात् फ्ँयाकिएका प्रधानमन्त्री चाहिँ हुन् । जीहजुरी नगर्नाले उनीसँग भारत कहिल्यै खुसी हुन सकेन । यो वा त्यो बहानामा नाखुस बनिरह्यो । चीनसँग उनले गरेका भनिएका व्यापार र पारबहन सन्धिलाई आउने सरकारले अझै घनिभूत रूपमा अघि बढाएर सम्बन्ध सुधार्नु, भूकम्पबाट भएको क्षतिको पुनर्निमाण, बाढीपहिरो पीडित जनतालाई राहत, फाष्टट्रयाक निर्माण, लुम्बिनी र रौतहटमा बन्ने भनिएको अन्तर्राष्ट्रिय विमानस्थलका निर्माण कार्यहरू तारन्तार सम्पन्न गरिए भने जनताले बिस्तारै ओली कार्यकाललाई पनि भुल्ने छन् ।

–    देश अघि बढाउन सपना त देख्नुपर्छ तर देशको भिजन र मिसनसँग मिल्ने र औकातअनुसारका सपना मात्र देख्नुपर्छ । उखान टुक्काले मात्र देश चल्दैन । फेसबुकमा फेक आइडी बनाएर र आफ्नो भजन गाउन लगाएर इतिहासमा दरिन सकिन्नँ । यो शिक्षाचाहिँ ओलीजीका दानापानी खाएका तथा स्वगुटमा रमाएका कर्ताधर्तालाई राम्ररी मिलेको हुनुपर्छ । –    ‘डा.केसी भर्सेज मेडिकल माफिया’ को मुद्दामा तानिएर अब निजी मेडिकल कलेजका साहूहरू पनि माइतीघर मण्डलामा आए । प्रतिआन्दोलनकारीका रूपमा देखिएका भोला रिजाल र केही थान सुकिलामुकिलाहरूले देखाएको साखुल्लेपनालाई मुलुकका सातै प्रदेशमा बस्ने गरिखाने नेपालीले क्षणपलको हिसाब गरी ‘वाच’ गरिरहेका छन् । को कति पानीमा छन, डा. केसी र डा. रिजाल ? जनता जान्ने भैसकेका छन् ।   –    जाँदाजाँदै, हामी किन एउटा सरकारलाई उसको पूर्णावधि काम गर्न दिँदैनौं ? २६ वर्षमा २४ सरकार हामीले आफ्ना लागि बनायौं या छिमेकी खुसी पार्न ? यसको चित्तबुझ्दो जवाफ राजनीति गर्नेले नदिएमा अब जनताले छाड्ने छैनन् ।

Leave a Reply

Your email address will not be published.